सायद पागल हुॅदैछु म
सायद पागल हुॅदैछु म
आजकल
हरेक मध्यरातको सन्नाटामा
मेरो कानमा आई फुसफुसाउँछौ तिमी
नतिम्रो न मेरो कसैको हुन नसकेको हाम्रो कथा
म उठ्छु,वरिपरी खोज्छु तिमीलाई
तर त्यही सन्नाटा बाहेक भेट्दिन
सायद पागल हुॅदैछु म।
आजकल
लोडसेडिङ मुक्त मेरो मनका बत्तीहरु
तिम्रो प्रवेशसाथ झ्यापझुप बन्द हुन्छन
खोसेर लैजान्छौ तिमीले प्रकाश
अनि आत्तिन थाल्छु म
चिच्याउन थाल्छ मेरो मन
सायद पागल हुॅदैछु म।
आजकल
अरुनै कसैलाई खोजिरहेका तिम्रा आँखाभित्र
खै किन हो म आफ्नो तस्बिर खोज्छु
अनि आफ्नै ऑखाभित्र खोज्छु
आफ्नै अस्तित्व
तर न तिम्रा न मेरा कुनै आॅखामा पनि पाउँदिन म तस्बिर आफ्नो
बरु देख्छु त्यो पर मोक्षघाटको चितामाथी आफैँलाई
सायद पागल हुॅदैछु म।
देवकोटाले ढुङ्गालाई फुल देख्थे रे
पागल ठहरिए उनि
मैले पनि त तिमीभित्रको ढुङ्गालाई फुलरुपी मन देखेॅ
जुन कथामा मेरो नामोनिशान पनि थिएन
त्यही कथा,आफ्नो जिवन देखेॅ
त्यसैले त मलाई लाग्दैछ
सायद पागल हुॅदैछु म।