Writings
All writings
Poetry

म आजपनि त्यही बाटो हिँडिरहेछु

म आजपनि त्यही बाटो हिँडिरहेछु,

जहाँ हिजो तिमी र म सँगै हिॅडेथ्यौँ

हिजो, जब प्रेममा थियौँ हामी र सायद बाटो पनि

भुईँभरी गलैँचा बनेका बैजनी शिरीषका फुलहरु

लाग्थ्यो हाम्रैलागी छरिएका थिए,

हाम्रै प्रेमको साक्षी बनेझैँ।

मौसम सायद तिम्रो मनसँगै परिवर्तन भएछ

आज म एक्लै छु,

अनि छरिएका छैनन शिरीषका फुल

बरु ठिङ्ग जिङ्ग्रीङ्ग उभिएका छन

पात झरेका शिरीषका बोटहरु

लाग्छ, शिशीर हामी दुबैलाई उत्तिकै आएछ।

म एकछिन अडिन्छु, वरिपरी हेर्छु,

मलाई तिमी बिनाको म

र पातबिनाको रुख उस्तै लाग्छ,

सायद नयाँ वसन्त खोजिरहेछौँ दुवै

जहाँ शिरीषका फुलहरु ढकमक्क फेरी फुल्नेछन

फेरी पाउनेछ यो बाटोले सुन्दरी वैजनी कार्पेट

अनि म हिँडिरहेको हुनेछु त्यहि बाटो

तिमी बिना वा तिमी संगै

वसन्तको धर्म फर्केर आउनु हो,

रुखको धर्म फेरी फुल फुलाउनु

र मेरो धर्म, हिँडिरहनु

वसन्त त भोली फेरी आउँछ आउँछ

के प्रेम फेरी सम्भव होला?