म आजपनि त्यही बाटो हिँडिरहेछु
म आजपनि त्यही बाटो हिँडिरहेछु,
जहाँ हिजो तिमी र म सँगै हिॅडेथ्यौँ
हिजो, जब प्रेममा थियौँ हामी र सायद बाटो पनि
भुईँभरी गलैँचा बनेका बैजनी शिरीषका फुलहरु
लाग्थ्यो हाम्रैलागी छरिएका थिए,
हाम्रै प्रेमको साक्षी बनेझैँ।
मौसम सायद तिम्रो मनसँगै परिवर्तन भएछ
आज म एक्लै छु,
अनि छरिएका छैनन शिरीषका फुल
बरु ठिङ्ग जिङ्ग्रीङ्ग उभिएका छन
पात झरेका शिरीषका बोटहरु
लाग्छ, शिशीर हामी दुबैलाई उत्तिकै आएछ।
म एकछिन अडिन्छु, वरिपरी हेर्छु,
मलाई तिमी बिनाको म
र पातबिनाको रुख उस्तै लाग्छ,
सायद नयाँ वसन्त खोजिरहेछौँ दुवै
जहाँ शिरीषका फुलहरु ढकमक्क फेरी फुल्नेछन
फेरी पाउनेछ यो बाटोले सुन्दरी वैजनी कार्पेट
अनि म हिँडिरहेको हुनेछु त्यहि बाटो
तिमी बिना वा तिमी संगै
वसन्तको धर्म फर्केर आउनु हो,
रुखको धर्म फेरी फुल फुलाउनु
र मेरो धर्म, हिँडिरहनु
वसन्त त भोली फेरी आउँछ आउँछ
के प्रेम फेरी सम्भव होला?